भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ।
तर, त्रिशूली–३ ‘ए’ को सुरुङबाट २१६ घण्टापछि दुई कर्मचारीलाई जीवितै उद्धार गरिएपछि सुरुङभित्र फसेकाहरूको परिवारमा नयाँ आशा पलाएको छ। सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिए पनि सोही सुरुङबाट एक जनाको शव फेला परेको छ।
अहिले त्रिशूली–३ ‘ए’ मा ढुंगा, लेदो र बालुवा हटाउँदै उद्धार टोली सुरुङभित्र थप अगाडि बढिरहेको छ। ठूलो ढुंगा भेटिएका स्थानमा ब्लास्टिङ गरेर बाटो खोल्ने कामसमेत भइरहेको छ।
यता त्रिशूली–३ ‘बी’, लाङटाङ, माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा पनि उद्धार टोलीले फरक–फरक चुनौतीबीच खोजी जारी राखेका छन्। कतै सुरुङ लेदोले पुरिएको छ, कतै पहुँचमार्ग बाढीले बगाएको छ भने कतिपय स्थानमा भूमिगत संरचनासम्म पुग्नै कठिन भइरहेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, आयोजनाका प्राविधिक, विदेशी विशेषज्ञ, शेर्पा तथा ड्रोन टोलीसमेत खोजीमा परिचालित छन्। विशेष क्यामेरा, तालिमप्राप्त कुकुर, एस्काभेटर र अन्य उपकरणको प्रयोग गरेर सुरुङ तथा भूमिगत संरचनामा खोजी भइरहेको छ।
२१६ घण्टापछि दुई जनाको जीवित उद्धारले ‘अब पनि आशा बाँकी छ’ भन्ने सन्देश दिएको छ। त्यसैले कठिन भूगोल, लेदो र जोखिमबीच पनि उद्धार टोलीको खोजी अभियान रोकिएको छैन।






Leave a Reply