११ दिनसम्म माटो र भग्नावशेषभित्र बित्यो, तर आशा मरेन। बेत्रावतीमा उद्धार टोलीले अन्ततः एउटी महिलालाई जीवितै बाहिर निकालेको छ।
नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीको भीषण बाढीपछि पहिरोले पुरिएको घरबाट बिदुर नगरपालिका–१० की करिब ५५–५६ वर्षीया चन्डिका श्रेष्ठलाई शनिबार जीवितै उद्धार गरिएको हो।
आधा पुरिएको घरभित्रबाट मानिसको आवाज सुनिएको खबर पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि माटो र भग्नावशेष हटाउँदै खोजी गर्दा श्रेष्ठलाई जीवित अवस्थामा फेला पारिएको हो।
उद्धारपछि श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन्। उनलाई तत्काल स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थातर्फ लगिएको छ।
भदौ १० गते आएको भीषण बाढीपछि उनी ११ दिनसम्म पहिरोले पुरिएको संरचनाभित्रै रहेकी थिइन्।
विपद्ले चारैतिर निराशा फैलाइरहेका बेला बेत्रावतीबाट आएको यो घटनाले एउटा कुरा फेरि प्रमाणित गरेको छ—उद्धारमा जुट्नेहरूका लागि आशाको अन्तिम ढोका बन्द हुँदैन।






Leave a Reply