सुरुङभित्र जीवनको आशा बाँकी छ कि छैन—यो प्रश्नले अहिले सयौँ परिवारलाई पिरोलिरहेको छ। तर बाढी आएको एक साता बितिसक्दा पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन श्रमिकको उद्धारले अपेक्षित गति लिन सकेको छैन।
भदौ १० गते आएको बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ८ सय ९४ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। तीमध्ये करिब ६ सय जना सुरुङभित्र फसेको हुन सक्ने अनुमान गरिएको छ।
त्रिशूली–३ बी आयोजनामा मात्रै १ सय ९८ जना सम्पर्कविहीन छन्। चिलिमे, लाङटाङ, अपर त्रिशूली–१ लगायतका आयोजनामा पनि खोज तथा उद्धार जारी छ।
उद्धारमा संलग्न सरोकारवालाले भने आवश्यक उपकरण र जनशक्ति समयमै परिचालन हुन नसकेको गुनासो गरेका छन्। कतिपय स्थानमा एक्स्काभेटर, डेब्रिस हटाउने उपकरण तथा प्राविधिक जनशक्ति आवश्यक भए पनि ढिलो गरी मात्रै उपलब्ध भएको उनीहरूको भनाइ छ।
यसैबीच, निजी क्षेत्र, प्राविधिक संघसंस्था र विदेशी उद्धार टोलीले समेत सुरुदेखि नै सहयोगको तयारी गरेको भए पनि आवश्यक अनुमति र समन्वयमा ढिलाइ भएको गुनासो गरेका छन्।
सरकारले भने उद्धार कार्य नेपाली सेनाको नेतृत्वमा भइरहेको र अब सम्बन्धित जलविद्युत् आयोजनाका कम्पनीलाई पनि आवश्यक उपकरण तथा प्राविधिक जनशक्तिसहित खोज तथा उद्धारमा परिचालन गरिएको जनाएको छ।
तर, प्रश्न अझै उही छ—विपद्को पहिलो घडीमै उपलब्ध स्रोतसाधन परिचालन गर्न सकिएको भए कति जीवन जोगिन सक्थे?
अब ढिलाइको समीक्षा गर्ने समयसँगै सुरुङभित्र सम्पर्कविहीन भएकाहरूको यथाशीघ्र खोजी र उद्धार नै सबैभन्दा ठूलो प्राथमिकता बन्नुपर्ने देखिन्छ।






Leave a Reply