काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेटको एउटा ठूलो भाग आज चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ। यो घटना योजनाबद्ध नभए पनि वैज्ञानिकहरूले यसलाई चन्द्रमाको सतहबारे नयाँ जानकारी प्राप्त गर्ने अवसरका रूपमा लिएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, अमेरिकी समयअनुसार बुधबार बिहान २:३५ बजे (नेपाली समयअनुसार दिउँसो १२:२० बजे) करिब ४ टन तौल भएको रकेटको दोस्रो चरण चन्द्रमाको पश्चिमी भागमा रहेको आइन्स्टाइन क्रेटर नजिक उच्च गतिमा ठोक्किने अपेक्षा गरिएको छ।
वैज्ञानिकहरूका अनुसार उक्त वस्तु प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटरको गतिमा चन्द्रमामा पुग्नेछ। त्यसको प्रभावले चन्द्रमाको सतहमा नयाँ खाडल बन्न सक्ने र ठूलो मात्रामा धुलो उड्न सक्ने अनुमान गरिएको छ। यसबाट प्राप्त हुने तथ्यांक भविष्यका चन्द्र अनुसन्धान तथा अवतरण अभियानका लागि उपयोगी हुन सक्ने विश्वास गरिएको छ।
यो रकेटको भाग सन् २०२५ को जनवरीमा स्पेसएक्सको फाल्कन–९ रकेटमार्फत फायरफ्लाइ एयरोस्पेसको ‘ब्लु घोस्ट’ चन्द्र अवतरण यान तथा जापानी कम्पनी आइस्पेसको अर्को चन्द्र ल्यान्डर प्रक्षेपणका क्रममा प्रयोग गरिएको थियो।
स्पेसएक्सले भने चन्द्रमासँग हुने यो ठक्कर पूर्वनिर्धारित योजना नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सौर्य गतिविधि र गुरुत्वाकर्षणको प्रभावका कारण रकेटको उक्त भागको कक्षा परिवर्तन हुँदै चन्द्रमातर्फ पुगेको हो। इन्धन समाप्त भइसकेकाले त्यसलाई पुनः नियन्त्रणमा ल्याउन सम्भव भएको थिएन।
सामान्य अवस्थामा यस्ता रकेटका चरणहरू आफ्नो काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर जलेर नष्ट हुने वा सुरक्षित रूपमा समुद्रमा खस्ने गर्छन्। तर यस अभियानमा चन्द्रमातर्फ बढी ऊर्जा प्रयोग गरिएकाले दोस्रो चरण पृथ्वीको कक्षाभन्दा बाहिर पुगेको थियो र अन्ततः अनियन्त्रित अवस्थामा चन्द्रमातर्फ अग्रसर भएको हो।
यस घटनाले चन्द्रमाको सतहमा प्रत्यक्ष प्रभाव पार्ने मात्र होइन, भविष्यमा अन्तरिक्ष अभियानपछि बाँकी रहने रकेटका भागहरूको व्यवस्थापनबारे पनि नयाँ बहस सुरु गरा
एको छ।





Leave a Reply