Connect With Us
समाचार

कांग्रेस विवादमा सहमतिको संकेत, गगन–पूर्णबहादुर भेटपछि शेखरसँग पनि छलफल

1 min read 32

 

 

काठमाडौं — नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि शीर्ष नेताबीचको संवाद तीव्र बनेको छ। सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ भएको ‘वान टु वान’ भेटपछि पार्टीभित्र सहमतिको सम्भावना थप बलियो बनेको नेताहरूले बताएका छन्।

 

खड्काले पार्टीको आगामी १५औँ महाधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर कसैलाई सहभागी हुनबाट रोक्न नहुने धारणा राख्दै आएका छन्। विशेषगरी १५औँ महाधिवेशनका लागि नवीकरण भएका तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यतालाई अद्यावधिक नगरिएको कारण देखाएर सदस्यहरूलाई महाधिवेशन प्रक्रियाबाट बाहिर राख्न नहुने उनको अडान छ।

 

त्यसैगरी, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई समेत आगामी विशेष महाधिवेशनको प्रक्रियामा समेटिनुपर्ने खड्काको अर्को माग छ।

 

शनिबार भएको भेटमा सभापति थापा यी विषयमा सकारात्मक देखिएको स्रोतको दाबी छ। यही कारण लामो समयदेखि देखिएको विवाद समाधानतर्फ कांग्रेस अघि बढ्न सक्ने अपेक्षा बढेको छ।

 

यसैबीच सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार बिहान थप छलफल हुँदैछ। पार्टीभित्रको एकता कायम राख्ने विषयमा कोइरालाले यसअघि अघि सारेका प्रस्तावमाथि छलफल हुने बताइएको छ।

 

कोइरालाले महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नबनाउने, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण भएका सदस्यतालाई आधार मानेर १५औँ महाधिवेशन अघि बढाउनेलगायतका प्रस्ताव राखेका छन्।

 

त्यस्तै, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बन्ने केन्द्रीय कार्यसमितिबीच समायोजन गरी एउटै संरचना बनाउने, कार्यसम्पादन समितिमा सभापतिको बहुमत रहने व्यवस्था गर्ने तथा निर्वाचन, क्रियाशील सदस्यता छानबिन, अनुशासन र विधानलगायतका समितिहरू आपसी सहमतिमा गठन गर्ने प्रस्ताव पनि कोइरालाको छ।

 

यी प्रस्तावमा पूर्णबहादुर खड्काको समेत सहमति रहेको कांग्रेसका नेताहरूको भनाइ छ। त्यसैले गगन–खड्का र गगन–शेखरबीचको संवादलाई कांग्रेसभित्रको विवाद समाधानका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा स्वयं विवाद समाधानका लागि विभिन्न नेताहरूसँग संवादमा छन्। उनले पार्टीभित्र सहमतिको वातावरण बन्ने सम्भावना बलियो रहेको संकेत गरेका छन्।

 

सभापतिले कस–कससँग के विषयमा छलफल गरे भन्नेबारे भने आइतबार दिउँसो बस्ने कार्यसम्पादन समिति बैठकमा जानकारी गराइने उनले बताएका छन्।

 

विवाद समाधानको प्रयासले ठोस रूप लिएमा भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको मिति केही समय पछाडि सर्न सक्ने सम्भावना पनि देखिएको छ। यसबारे अन्तिम निर्णय कार्यसम्पादन समिति बैठकबाट हुन सक्ने कांग्रेस नेताहरूले संकेत गरेका छन्।

 

लामो समयदेखि आन्तरिक मतभेदमा अल्झिएको कांग्रेसमा शीर्ष नेताबीचको पछिल्लो संवादले अब विवादभन्दा सहमतितर्फ पार्टी अघि बढ्ने सम्भावना देखाएको छ। तर छलफलले वास्तविक सहमतिको रूप लिन्छ कि फेरि नयाँ विवाद जन्माउँछ भन्ने कुरा भने आगामी बैठक र नेताहरूबीच हुने निर्णयले स्पष्ट पार्नेछ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १६ गते १५:३१

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *