काठमाडौं — नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने कानुनमन्त्री सोबिता गौतमको अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्।
सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कर्णले मन्त्री गौतमलाई कुन–कुन कानुन राष्ट्रिय सभाका कारण अघि बढ्न नसकेको हो? भन्दै स्पष्ट पार्न आग्रह गरिन्।
उनले कानुन निर्माणमा समस्या देखाएर आफ्नो असक्षमता ढाक्न खोजिएको आरोपसमेत लगाइन्। केही दिनअघि मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्याप्त प्रतिनिधित्व नहुँदा जनअपेक्षाअनुसार कानुन बनाउन कठिन भएको बताएकी थिइन्।
बैठकमा सांसद कर्णले अदालतबाट फैसला भइसकेका मुद्दा कार्यान्वयनमा समेत ढिलाइ भइरहेको विषय उठाइन्। मुद्दाको सुनुवाइ लामो हुनु र पटक–पटक पेसी सर्नुले नागरिकले समयमै न्याय पाउन नसकेको उनको भनाइ थियो।
उनले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै न्यायमा हुने ढिलाइले पीडित नागरिकमाथि थप अन्याय हुने बताइन्।






Leave a Reply