बुटवल । रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि लुम्बिनी प्रदेश सरकारले ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने जानकारी दिएका छन्।
त्यसैगरी, लुम्बिनी प्रदेशमा स्थायी बसोबास गर्ने कुनै नागरिक विपद्मा परी मृत्यु भएमा उनका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिने निर्णयसमेत गरिएको छ।
सरकारले विपद्को यो कठिन अवस्थामा उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गरेको छ।
यसबीच, रसुवामा आएको बाढीपछि लुम्बिनी प्रदेशका १८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बताएका छन्।
सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकारले जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ।
बाढीका कारण नदीमा बगेर पश्चिम नवलपरासीमा आइपुगेका शवको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गरिरहेको बताइएको छ।
विपद्को क्षति ठूलो भए पनि राहत, उद्धार र खोजीलाई प्रभावकारी बनाउन प्रदेश सरकार सक्रिय भएको सन्देश लुम्बिनीले दिएको छ।






Leave a Reply