काठमाडौँ — हाल देशभरका प्रमुख नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि आगामी तीन दिन भने बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली लगायतका प्रमुख नदी तथा तिनका सहायक नदीहरूमा हाल बाढीको अवस्था सामान्य छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीको बहाव पनि अहिले नियन्त्रणमै छ।
कुन-कुन नदीमा बढ्दै छ पानीको सतह?
महाशाखाको तीन दिने प्रक्षेपणअनुसार आज विशेषगरी नारायणी, कर्णाली र महाकाली बेसिनका नदीहरूमा पानीको सतह उल्लेख्य बढ्नेछ।
उल्लेख्य वृद्धि हुने नदीहरू: नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी, पश्चिम सेती र महाकाली।
सामान्य वृद्धि हुने नदीहरू: कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण, सुनकोशी र दूधकोशी।
भोलि र पर्सि भने देशैभरका ठुला तथा मझौला नदीहरूमा पानीको बहाव थप बढ्ने अनुमान गरिएको छ।
साना नदी र खहरे खोलामा आकस्मिक बाढीको जोखिम
ठुला नदीको तुलनामा आज स-साना नदी तथा खहरे खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) सहित बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनका खहरे खोलाहरूमा बाढी आउन सक्ने चेतावनी दिइएको छ। साथै, पूर्वमा ताप्लेजुङदेखि पश्चिममा कञ्चनपुरसम्मका पहाडी तथा तराईका जिल्लाहरू भई बग्ने साना नदीहरूमा पनि बहाव उच्च हुनेछ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा आगामी दुई दिनसम्म यो जोखिम कायमै रहने भएकाले नदी तटीय क्षेत्र र खहरे आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्र
ह गरेको छ।






Leave a Reply