देशका विभिन्न प्रदेश सभाहरूमा बजेट निर्माणको क्रममा देखिएका असमझदारी, बजेटहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई समाधान गर्ने उद्देश्यले दुई ठूला राजनीतिक दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच औपचारिक सहमति भएको छ। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्रता दिन भन्दै यी दुई दलले लिखित सहकार्यको बाटो समातेका हुन्।
सार्वजनिक गरिएको सहमति पत्रअनुसार प्रदेशसभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय गरिएको छ। जसअनुसार मुख्यमन्त्री तथा नेतृत्वको बाँडफाँट समेत टुंगो लगाइएको छ:
कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संयुक्त सरकारको नेतृत्व गर्नेछ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले संयुक्त सरकारको नेतृत्व सम्हाल्नेछ।
त्यसैगरी, मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षर गरिएको यो सहमति पत्रमा मिति २०८१ साल साउन ९ गते उल्लेख गरिएको छ। प्रदेश तहमा देखिएका राजनीतिक अन्योलता र बजेटसम्बन्धी संकटलाई चिर्दै भएको यो नयाँ राजनीतिक समझदारीले देशको प्रादेशिक राजनीतिमा दूरगामी प्रभाव पार्ने देखिएको छ।






Leave a Reply