नयाँ दिल्ली । इतिहासमा केही यस्ता आन्दोलनहरू हुन्छन्, जसको शक्ति नेताको भाषण, राजनीतिक दलको संगठन वा आर्थिक स्रोतमा होइन, सामान्य नागरिकभित्र लुकेको ऐक्यबद्धतामा निर्भर हुन्छ। अहिले भारतको राजधानी नयाँ दिल्लीको जन्तर–मन्तरमा देखिएको दृश्य त्यही दुर्लभ क्षणको दृष्टान्त बनेको छ।
दिल्लीको जन्तर–मन्तरमा कसैले आन्दोलनकारीलाई खाना खुवाइरहेका छन् त कोही पानी खुवाएर साथ दिइरहेका छन्। कसैले नारा होइन, सडक सफा गरेर, मेडिकल सुविधा उपलब्ध गराएर आन्दोलनलाई जीवन्त बनाइरहेका छन्। यहाँ घाइते विद्यार्थीहरूको उपचार गर्न चिकित्सकहरूको विभिन्न टोली, आफ्नो क्लिनिक छाडेर प्रदर्शनस्थलमै स्टल खडा गरेर आन्दोलनमा सहयोग गरिरहेका छन्।
झनै रोचक त के छ भने सात समुन्द्र पारिबाट तथा देशका विभिन्न सहरहरूबाट हजारौँ अपरिचित मानिसहरूले अनलाइनमार्फत खाना अर्डर गर्दै जन्तर–मन्तर पठाइरहेका छन्। यसबाट हजारौं प्रदर्शनकारीको छाक टरिरहेको छ।
मे महिनामा सामाजिक सञ्जालमा व्यंग्यका रूपमा सुरु भएको कक्रोच जनता पार्टी (सीजेपी) आज भारतकै चर्चित युवा आन्दोलनमा रूपान्तरण भएको छ। आन्दोलनको मुख्य माग परीक्षा प्रश्नपत्र चुहावटको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो। र प्रधानले शनिबार दिउँसो राजीनामा दिएसँगै आन्दोलन अब केही मत्थर हुने आशा गरिएको छ।
तर पछिल्ला दिनमा यो आन्दोलन एउटा मन्त्रालयको विरोधमा मात्र सीमित नरही सम्पूर्ण युवापुस्ताको निराशा, असन्तुष्टि र न्यायको खोजीको साझा आवाज बन्न पुगेको छ। भारतका विभिन्न सहरहरूबाट युवाहरू आफैले गाडीभाडा खर्च गरेर प्रदर्शन स्थल जन्तर–मन्तर आइरहेका छन्।
आन्दोलनलाई निर्णायक मोडमा पुर्याउने घटना प्रहरीको कठोर दमन बन्यो। जुलाई २० मा सीजेपीले संसद मार्चको आह्वान गरेको थियो। त्यसलाई रोक्ने क्रममा प्रहरीले हजारौँ विद्यार्थीमाथि लाठीचार्ज गरेपछि आन्दोलन छत–विक्षत् हुनुको सट्टा झनै संगठित हुन पुग्यो। प्रहरीको बल प्रयोगले आन्दोलनलाई झनै भावनात्मक रूपमा एकतावद्ध गरिदियो। यस आन्दोलनका दौरान देखिएका केही अभूतपूर्ण पक्षहरूलाई पाँचवटा बुँदाहरूमा यसरी उल्लेख गर्न सकिन्छ।
१. खाना पठाइदिने आन्दोलनका मौन नायकहरू
अहिले जन्तर–मन्तरमा सबैभन्दा बढी ध्यान तान्ने दृश्य कुनै राजनीतिक भाषण भन्दा पनि लगातार आइरहेका खाना बोकेका डेलिभरी मोटरसाइकल भएका छन्। बिहानदेखि रातभरसम्म एउटा डेलिभरी सकिन नपाउँदै अर्को आइपुग्छ।
स्वयंसेवकहरूले एउटा बाकस झार्न नपाउँदै अर्को चालक आन्दोलन स्थलमा उभििसकेको हुन्छ। दृश्यमा देखिन्छ, कतै समोसा–तरकारी बाँड्दै छ त कतै बिहान चिया र स्यान्डविच बाँडिदै छ। प्रहरीले विद्यार्थीमाथि २० जुलाईमा दमन गर्नु अघिसम्म नदेखिएको अभूतपूर्व दृश्यमा अहिले डोम्याटो, म्याकडोनाल्ड जस्ता ठाउँबाट डेलिभर ब्वाईहरू पिजा, स्यानविच तथा बर्गर बोकेर आएको र आन्दोलनकारीले त्यसको लुप्त उठाउँदै सरकार विरोधी नाराहरू घन्काइरहेको देख्न सकिन्छ।
देश तथा विदेशबाट आन्दोलनकारीका लागि खाना अर्डर गर्नेहरूले यो खाना जन्तर–मन्तरमा लगेर आन्दोलनकारीलाई दिनु भनेको डेलिभरी ब्वाईहरूले भन्दै गरेको सुन्न सकिन्छ। खाना कसले पठाएको हो भन्ने उनीहरू आफ्नो परिचय खुलाउन چاہन्नन् तर उनीहरूको सहयोग आन्दोलन स्थलसम्म आइपुगेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ।
आन्दोलनस्थलमा आएको खाना जो कोहीले, जो कोहीलाई बाँड्दै गरेको देख्न सकिन्छ। पत्रकारहरू पनि जो दिनरात लगातार जन्तर–मन्तरको रिपोर्टिङमा खटिएका छन् उनीहरूले पनि त्यस्ता ती खाना खाइरहेको देख्न सकिन्छ।
२५ वर्षीय खाना डेलिभरी ब्याय सुरज कुमारले भने, ‘अहिले केरलादेखि अमेरिकासम्मबाट अर्डर आइरहेका छन्। उनीहरूले यो सबै खाना जन्तर–मन्तरमा लगेर आन्दोलनकारीलाई दिन भनेका छन्।’
२. सडक सफा गर्नेहरू
जन्तर–मन्तरमा आन्दोलन केवल नाराले चलिरहेको छैन। यहाँ एउटा समानान्तर स्वयंसेवी समाज वा भनौं एउटा ‘कम्युन’ निर्माण भएको छ। कसैले खाना वितरण गरिरहेको छ। कसैले पानी बाँडिरहेको छ। केही स्वयंसेवकहरूले फोहोर संकलन गरिरहेका छन्।
वर्षाले पानी जमेको स्थान सफा गर्ने पनि उत्तिकै छन्। प्रदर्शनका कारण थाकेका प्रदर्शनकारीलाई हातले हल्लाउने पङ्खाले हावा लगाउने युवा पनि यही आन्दोलनभित्रकै स्वयंसेवक छन्। दिल्ली विश्वविद्यालयकी २० वर्षीया विद्यार्थी रिना रावत यसको उदाहरण हुन्। सोमबार प्रहरीको लाठी प्रहारबाट उनको देब्रे खुट्टामा चोट लाग्यो। तर भोलिपल्टै उनी फेरि आन्दोलनस्थलमा फर्किइन्। घाइते शरीर लिएर पनि उनले आन्दोलनकारीलाई लाइन मिलाउने, खाना वितरण गर्ने र स्वयंसेवकको जिम्मेवारी सम्हालिन्।
उनको भनाइमा, ‘यो आन्दोलन जनताको सद्भाव र हाम्रो एकताले चलिरहेको छ।’ यही भावनाले आन्दोलनलाई राजनीतिक अभियानभन्दा माथि उठाएर एउटा नागरिक आन्दोलन बनाएको छ। मणिपुरबाट आएकी रम्नता सडक सफा गर्दै गरेकी देखिन्छन् भने कयाँै डाक्टरहरू घाइतेहरूको उपचार गरिरहेको देख्न सकिन्छ।
बीबीसीसँग कुरा कानी गर्दै महाराष्ट्रकी एक घाइते युवतीले भनिन्, ‘म आफ्नो परिवारमा नभनीकनै आन्दोलनमा आएकी हुँ। परिवारबाट तत्काल घर आउन दबाब आइरहेको छ तर म यो आन्दोलन नसकिँदासम्म घर जान्न। किनभने यहाँको माहोलबाट मैले सबै भन्दा ठुलो शिक्षा लिएकी छु।’
यति भन्दै गर्दा उनी सडकमा रहेको घाइतेहरूको जुत्ता टिपीरहेकी थिइन। यस्ता दृष्यसँगै आन्दोलनले आफूलाई विश्वकै विशिष्ट आन्दोलनका रुपमा विकास गरिरहेको देख्न सकिन्छ।
३. घाइतेलाई मल्हम लगाउनेहरू
जन्तर–मन्तरमा चौविसै घण्टा आन्दोलनकारीहरू नारा गुञ्जाइरहेका हुन्छन्। कोही नारामा हुन्छन् त कोही घाइतेको उपचारमा। कोही सरसफाइमा त कोही खाना खुवाउनेमा। यो सबै आन्दोनलको हिस्सा हो।
आन्दोलनकारीको वरपर प्रहरीका जवरजस्त ब्यारिकेडहरू छन्। नजिकै एम्बुलेन्सहरू तयारी अवस्थामा छन्। पहेँलो त्रिपालले छोपिएको एउटा अस्थायी स्वास्थ्य शिविरमा भने अर्कै दृश्य देखिन्छ। स्वयंसेवी चिकित्सकहरू घाइते र बिरामी आन्दोलनकारीको उपचारमा दिनरात खटिरहेका छन्।
प्रहरीसँगको झडपमा हातखुट्टा सुन्निएका, लाठी प्रहारबाट घाइते भएका, चोटपटक लागेका, ज्वरो आएका वा लामो समयको घाम र गर्मीकाका कारण निर्जलीकरण भएका आन्दोलनकारीहरू यस्ता शिविरहरूमा पुग्छन्। प्राथमिक उपचार पाएपछि उनीहरू फेरि आन्दोलनमा फर्किन्छन्।
अरु त अरु भारतका अन्य आन्दोलनहरूमा भन्दा फरक यस आन्दोलनमा सहभागिता जनाएका भारतका हजारौँ–हजार महिला आन्दोलनकारीहरूका लागि स्यानेटरी प्याड बाँड्दै गरेको पनि देखिन्छ। यति मात्र होइन, महिलाहरूका लागि कुछ सहयोगी हातहरूले भित्री वस्त्र तथा टिसर्ट पनि निशुल्क बाँड्दै गरेको देख्न सकिन्छ। यी सबै सामाग्रीहरू आन्दोलन स्थलसम्म विभिन्न सहयोगी हातहरूमार्फत पुगी रहेका छन्।
महाराष्ट्रबाट आएका एक चिकित्सकले केही समयका लागि आफ्नो निजी क्लिनिक बन्द गरेर आन्दोलनमा स्वयंसेवक बन्न रोजेको बताए। उनले भने, ‘डाक्टर हुनु भनेको अस्पतालभित्र मात्रै बिरामी हेर्नु होइन, समाजलाई आवश्यक परेको बेला आफ्नो ज्ञान र समय समर्पण गर्नु पनि हो।’
२९ वर्षीय सन्नी देवल दाहिने पाखुराभरि पट्टि बाँधेर उपचारका लागि शिविरमा पुगेका थिए। चोटको पीडा कम भएपछि उनी फेरि आन्दोलनमा फर्किए। यही दृश्य दिनभर दोहोरिरहन्छ। उपचार, स्याहार अनि फेरि पुनः आन्दोलन।
२३ वर्षीया स्वयंसेवक भावना भन्छिन्, ‘हामी पनि प्रश्नपत्र चुहावटबाट पीडित भएका हौँ। त्यसले दिने मानसिक तनाव निकै ठुलो हुन्छ। त्यसैले आन्दोलनकारीको सेवा गर्नु हाम्रो जिम्मेवारी हो।’
४. धर्मको राजनीतिभन्दा माथि उठेको आन्दोलन
जन्तर–मन्तरमा चलीरहेको विद्यार्थीहरूको आन्दोलनको अर्को विशेषता यसको सांस्कृतिक र सामाजिक विविधता हो। अधिकांश आन्दोलनकारीहरूका हातमा माहात्मा गान्धी, भगत सिंह र भिमराव अम्बेडकरको तस्वीर देख्न सकिन्छ।
यसले मुलतः अहिंसा, विद्रोह र संविधान रक्षा गर्नैपर्ने भावको प्रतिनिधित्व गर्छ। उनीहरू अहिंसात्म आन्दोलन गर्छन तर भगत सिंहको विद्रोही चेतनाका साथ भारतको संविधानलाई जोगाउनै पर्ने मत पनि राख्छन।
उनीहरू भारतमा मौलाउँदै गरेको हिन्दू–मुस्लिमको नारादेखि माथि उठेर आन्दोलनमा कुम जोडेर सहकार्य गर्दै गरेको देख्न सकिन्छ। त्यसैले त मुस्लिम युवाले खाँना लिएर आउँछ र कुनै हिन्दूले र सिखले खाना बाँड्दै गरेको यत्रतत्र देखिन्छ।
केही आन्दोलनकारी भने दमन गर्ने प्रहरी बललाई गुलाबका फूल बाँडिरहेको पनि देख्न सकिन्छ। १९ वर्षीया अर्पिता वर्मा भन्छिन्, ‘भारतमा हिन्दु–मुस्लिम राजनीति धेरै भइसक्यो। तर यो आन्दोलनमा त्यसका लागि कुनै ठाउँ छैन। अहिले हामी एउटै साझा उद्देश्यले एकजुट भएका छौँ, त्यो हो भारतको लोकतन्त्रको रक्षा र निरंकुश सरकारको विरोध।’
उनको भनाइले आन्दोलनको वास्तविक चरित्र प्रस्ट पार्छ। यहाँ धर्म, जात, भाषा वा क्षेत्रभन्दा माथि उठेर शिक्षा, अवसर, पारदर्शिता र न्यायको साझा मागले युवाहरूलाई जोडेको छ। भारतको आधाभन्दा बढी जनसंख्या ३० वर्षमुनिको छ।
तीव्र आर्थिक वृद्धिका तथ्यांक सार्वजनिक भइरहे पनि रोजगारीको अभाव, प्रतियोगी परीक्षामा हुने अनियमितता र भविष्यप्रतिको अन्योलले यही पुस्तालाई सबैभन्दा बढी प्रभावित बनाएको छ। त्यसैले प्रश्नपत्र चुहावटको विरोधबाट सुरु भएको आन्दोलन अहिले सम्पूर्ण युवापुस्ताको असन्तुष्टिको साझा स्वर बनेको छ। मोदी सरकारको नीतिहरूको आलोचना गर्ने थलो बनेको छ।
५. जन्तर–मन्तरमा देखिएको मानवता
प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन्। सरकारका तर्फबाट सुधार र विद्यार्थीको हित संरक्षणको प्रतिबद्धता भने व्यक्त गरेका छन्। तर आन्दोलनकारीहरू आश्वासनभन्दा बढी जवाफदेहिता र संस्थागत सुधारको माग गरिरहेका छन्।
यो आन्दोलनको सबैभन्दा ठुलो कथा राजनीतिक बहस होइन। यसको सबैभन्दा ठुलो कथा आन्दोलनलाई बचाइरहेको मानवीय संवेदना हो। निःस्वार्थ समर्पण हो। कक्रोच जनता पार्टीले आह्वान गरेको यो आन्दोलन यस्तै साना–साना तर एतिहासिक घटनाक्रमलाई आफूसँगै समेटेर अघि बढीरहेको छ।
भारतीय लोकतन्त्रमा यस्ता दृश्य विरलै देखिन्छन्, जहाँ अपरिचित मानिसहरूले आन्दोलनकारीको खाना, स्वास्थ्य र उर्जाका लागि मौन समर्थन जनाउँछन्। खासमा यो उनीहरू जस्ता हजारौँ–हजारको आन्दोलन हो, जो जन्तर–मन्तरमा आइपुग्न सकेका छैनन्।
जन्तर–मन्तर आज केवल विरोध प्रदर्शनको स्थल होइन, नागरिक ऐक्यबद्धता, परस्पर विश्वास र सामाजिक उत्तरदायित्वको जीवन्त विश्वविद्यालयका रुपमा यसले आफैलाई विकसित गरिरहेको छ। त्यसैले होला सायद आन्दोलन स्थलमा उभिएका कसैलाई पनि हामी एक्लै छौँ भन्ने लाग्दैन। उनीहरू ढुक्कले भन्छन्, ‘तिमी–हामी कोही अब एक्लो छैनौँ।’






Leave a Reply